भारतीय पर्यटक बस दुर्घटना

बस दुर्घटनामा कसैको मृत्यु पुष्टि भएको छैन : तनहुँ प्रहरी

केन्द्रभाग मिडिया

पोखरा ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा भएको बस दुर्घटनामा हालसम्म कसैको ज्यान गुमेको पुष्टि नभएको तनहुँ प्रहरीले जनाएको छ ।

अहिलेसम्म उद्धार गरिएकामा १४ जना अचेत अवस्थामा र १५ जना घाइते अवस्थामा उद्धार गरेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिए । ‘अहिलेसम्म २९ जनाको उद्धार भएको छ । त्यसमा १४ जनालाई अचेत अवस्थामा अस्पताल पठाइएको हो । बाँकी १५ जना घाइते अवस्थामा पठाएको हो । अचेत अवस्थामा रहेकालाई मृत घोषणा गर्न मिल्दैन,’ उनले भने, ‘कसरी मृत्यु भयो भनेर समाचार आइरहेको छ, त्यो थाहा भएन ।’

शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा चालक–सहचालकसहित  ४१ भारतीय  रहेको उनीहरु बसेको होटललाई उद्धित गर्दै कास्की प्रहरीले पुष्टि गरेको छ । गोरखपुरबाट दुई दिन अगाडि पोखरा आएको बस आज विहान काठमाडौं तर्फ जाँदैगर्दा बस दुर्घटना भएको हो ।

अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । बस मर्स्याङ्दी नदी किनारमा पल्टिएको अवस्थामा छ ।

  • ७ भाद्र २०८१, शुक्रबार १४:११ प्रकाशित