‘स्टार्टअप’ ले युवाहरूका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रम ओलीको विश्वास

के हो स्टार्टअप व्यवसाय ?

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपले युवाहरुका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालमा अहिले स्टार्टअपका अनुकूल वातावरण रहेको बताउँदै रोजगारी सिर्जनामा यसले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कामको खोजीमा युवाहरू दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए । उनले देशबाट बाहिरिने युवाहरूका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे । उनले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरू सरकारले ल्याउने पनि जानकारी गराए ।

प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास नगरीकन रोजगारीका अवसर सिर्जना हुन नसक्ने बताए । उनले स्टार्टअप आफैँमा गन्तव्य, उद्देश्य नभई माध्यम भएको बताए । गन्तव्य सुखी नेपाली र समृद्ध नेपाल रहेको बताए । उनले युवालाई देशमै रोजगारी दिने वातावरण सिर्जना गर्न जरुरी रहेको बताए ।

के हो स्टार्टअप व्यवसाय ?

सरकारले पहिलो पटक स्टार्टअपलाई परिभाषित गरेको छ । नेपालमा केही वर्षदेखि स्टार्टअपको चर्चा हुँदै आएको भएपनि त्यसको कुनै आधिकारिक परिभाषा थिएन् ।

तर अब सरकारले स्टार्टअप व्यवसायलाई परिभाषित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेर आन्तरिक छलफलमा ल्याएको ‘राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०७९’ मा स्टार्टअपको परिभाषा समेटिएको छ ।

उक्त मस्यौदामा ‘उद्यमशील समूहले वस्तु, सेवा वा प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नविन अन्वेषण एवम् सिर्जनशील सोचको प्रयोग गरी व्यवसायिक रुपमा सञ्चालन भइ स्तरोन्नतिको सम्भावना रहेको उद्यम वा व्यवसाय नै स्टार्ट अप हो’ भनेर परिभाषित गरिएको छ । त्यस्तै स्टार्टअपको उद्यम व्यवसायको परिभाषा अन्तर्गत साना तथा मझौला व्यवसायलाई नसमेटिने बताइएको छ ।

मस्यौदामा कुन कुन उद्यम स्टार्टअप व्यवसायको रूपमा रहने समेत व्यवस्था गरिएको छ । उल्लेख भए अनुसार कृषि तथा पशुपंक्षीमा आधिरत, वन (जडिबुटी, पैदावार) मा आधारित, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित, मानव स्वास्थ्य सेवासँग सम्बन्धित (ए) शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित, सहज सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित, पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित क्षेत्रका व्यवसाय स्टार्टअपको रूपमा सञ्चालन हुन सक्ने छन् ।

यस बाहेक विद्युतीय सवारी साधन तथा अटोमोबाइलसँग सम्बन्धित, परम्परागत प्रविधि उत्पादन उत्पादन र सेवा प्रवाहको प्रक्रियामा सुधारसँग सम्बन्धित, खनिज, अनुसन्धान र विकाससँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने प्रकृतिका, वस्तु तथा सेवाको वितरण प्रणाली सम्बन्धित र परम्परागत पेशा तथा उद्यमको पनुर्जागरण सम्बन्धित उद्यम स्टार्टअपको रूपमा सञ्चालन गर्न सकिने मस्यौदामा व्यवस्था गरिएको छ ।

  • ५ भाद्र २०८१, बुधबार १६:३७ प्रकाशित