काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा विद्युत् काट्नु घाँटी काट्नु सरह हुने टिप्पणी गरेका छन् । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९ औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
बक्यौता रकम नतिर्ने उद्योगलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटि विद्युत काट्न नहुने उनले बताए । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न उनले निर्देशन समेत दिए ।
उद्योगसँग आश्रित परिवार, उत्पादन र राजस्वको विषय पनि भएकाले पैसा नतिरेको खण्डमा कानुनको प्रयोग गर्नुपर्ने उनले बताए । मन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोहीअनुरूप साधनस्रोत परिचालनमा सरकार लागेको सुनाए ।
विद्युत्को बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने उनले बताए । विद्युत्को उपभोगलाई बढाउन बढी उपभोग गर्नेलाई सहुलियत दिनुपर्ने उनको भनाइ छ ।