काठमाडौं ।
काठमाडौं उपत्यकासंगै देशभरका पाँच जिल्लामा हैजा संक्रमण फैलदो क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाको तथ्यांक अनुसार यसवर्ष ४७ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ ।
महाशाखाका अनुसार ललितपुरमा मात्रै ३४ जनामा संक्रमण देखिएको छ भने कैलालीमा ८, प्युठान र काठमाडौंमा २/२ जना र रुपन्देहीमा १ जनामा संक्रमण पुष्टि भएको छ । तर हालसम्म अस्पतालमा भने कोही उपचाररत छैनन् ।
इडिसिडीका अनुसार हैजा भित्रभित्रै फैलिरहेको छ । पछिल्लो दिनमा बढ्दै गएका हैजा संक्रमित विभिन्न ठाउँमा देखिनुले भित्रभित्रै संक्रमण फैलिरहेको पुष्टि हुन्छ ।
संक्रमितले प्रयोग गरेका धारा र इनारको पानी, ट्याङ्करको पानी लगायतमा हैजाका जीवाणु देखिरहेका छन् । इडिसिडीका अनुसार पानी नै हैजा सार्ने प्रमुख माध्यम बनेको छ । हैजा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सामान्यतया झाडापखालाजस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुने बताउँछन् । उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् ।
झाडापखालाको कारणमध्ये हैजाको संक्रमण सबैभन्दा गम्भीर हो । हैजाले छोटो समयमा नै जटिलता ल्याउन सक्छ । सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार १० संक्रमितमध्ये एक जनामा हैजाले जटिल अवस्था निम्त्याउँछ ।
काठमाडौं उपत्यकामा पानीको स्रोत धेरै भएकाले ढुंगेधारा, घरघरमा जोडिएको धारा, ट्यांकर, जारका पानी संक्रमणको स्रोत बनिरहेको छ । हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाँउडिने, वान्ता हुने, थकाइ महसुस हुने आदि लक्षण देखिन्छन् । गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने विज्ञ बताउँछन् ।
यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजनको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो । हैजाबाट बच्न शौचालयमा मात्रै दिशा पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचिमिची साबुन पानीले हात धुने, खाना बनाउनु अघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने चिकित्सकको सुझाव छ ।












