कुलमानको पक्षमा नागरिक सडकमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अन्याय गरिरहेको तथा सीमित ठूला उद्योगीलाई विद्युतको बक्यौता तिर्न नपर्ने निर्णय गर्ने सम्भावना रहेको भन्दै दबाब दिन काठमाडौंमा प्रदर्शन भएको छ ।
डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल विवादमा सरकारले घिसिङमाथि अनावश्यक दबाब बढाएको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको हो । घिसिङको समर्थनमा जम्मा भएका नागरिकले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म र्याली निकाले ।

०७२÷७३ सम्म नोक्सानीमा रहेको प्राधिकरण कुलमान नेतृत्वमा आएयता निरन्तर नाफामा छ । २५.७८% भइरहेको विद्युत् चुहावट अहिले १२.७३% मा झरेको छ । यसबाट मात्रै प्राधिकरणले प्रतिवर्ष करिब १२ अर्ब थप आम्दानी गरेको छ । विद्युतको बजार भारतदेखि बंगलादेशसम्म विस्तार भएको छ ।घिसिङले सरकारको शतप्रतिशत स्वामित्वमा रहेको प्राधिकरणलाई नमुनायोग्य नाफा कमाउने संस्थाका रूपमा स्थापित गरे पनि सरकारले पूर्वाग्रह राखेको प्रदर्शनकारीको भनाइ छ ।

र्यालीमा सहभागीहरूले २२ अर्ब विद्युत बक्यौता रकम असुल गर, अँध्यारो र उज्यालो फरक छर्लंग छ, माइतीघरमा युवाहरूको लर्को, बालुवाटारमा ओलीलाई झर्को, माफियाको सत्ता, विजुली चोरलाई भत्ता, देउवा–ओलीलाई पेन्सन, युवाहरूलाई नदेऊ धेरै टेन्सन, तानाशाही सरकार मुर्दावादलगायतका नारा सहितका प्लेकार्ड बोकेका थिए ।

  • २६ श्रावण २०८१, शनिबार १७:१८ प्रकाशित