ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

साउ पाओलो ।

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको ज्यान गएको छ । दुर्घटनामा परेको एटीआर ७२–५०० मा ५७ यात्रु र चालक दलका चार सदस्य सवार थिए ।दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलतर्फ उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपास एयरलाइन्सले जनाएको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ । यो खस्दै गर्दा अनियन्त्रित भएर घुमिरहेको भिडियोमा देखिएको छ ।ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन् ।

अधिकारीहरूले फ्लाइट रेकर्डरहरू प्राप्त गरिसकेको बताएका छन् । फ्रान्सेली–इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ । विमान आवासीय क्षेत्रमा खसे पनि तर जमिनमा कोही पनि घाइते भएनन् ।

  • २६ श्रावण २०८१, शनिबार १२:३६ प्रकाशित