सिमलताल दुर्घटना

मृतक र बेपत्ताका परिवारलाई २ लाखको दरले राहत दिन सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ ।

सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै बेपत्ता भएकाहरूको परिवारलाई पनि मृतक सरह राहत दिन सिफारिस गरेको हो ।

विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड–०७७ असार परिवारको एकजना सदस्यको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा थप १ लाख रुपैयाँका दरले राहत दिने व्यवस्था छ ।

प्राकृतिक प्रकोपकै कारण सिमलतालमा दुईवटा डीलक्स बस दुर्घटना भएको निष्कर्ष निकाल्दै कार्यदलले बेपत्ता परिवारलाई पनि सो मापदण्ड अनुसार राहत दिन सिफारिस गरेको छ ।

सनाखत भएका १९ जना र बेपत्ता ४० जना पीडितको घर ठेगानाको जिल्ला प्रशासन कार्यालयबाट राहत दिनुपर्ने कार्यदलले सिफारिस गरेको छ । त्यस्तै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सिफारिस गरिएको छ ।

सिमलतालमाथिको पहाडी क्षेत्रमा हालसालै निर्माण भएको (सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ) सडक बनाउँदा भएको कमजोरीको कारण दुईवटा डिलक्स बस त्रिशूलीमा खसेको छानबिन निष्कर्ष छ ।

कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको र इन्जिनियरिङ डिजाइन बिनाको सडक बनाउँदा बर्सातमा त्यसको असर देखिएको कार्यदलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ,‘सडक बनाउँदा कट एण्ड फिल एप्रोचमा काम नगरेर कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक निस्केको माटो छेउमा फ्याँकिएको र टेवा पर्खाल नहुँदा डेब्रिज सिन्दुरे खोल्सा हुँदै बगेको देखिन्छ ।’

बगेको डेब्र्रिजको प्रेसर चेक ड्याम र ग्याविन वालले धान्न नसकेपछि बाढीसँगै आएको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुईवाट बस धकेलेर त्रिशूलीमा खसालेको कार्यदलको निष्कर्ष छ ।

  • २२ श्रावण २०८१, मंगलवार १६:३९ प्रकाशित