पहिरो अपडेट

बागलुङमा ८ जनाको ज्यान गयो, ६ जना बालबालिका मात्रै (मृतकको नामसहित)

केन्द्रभाग मिडिया

यो गुल्मीको पहिरोको तस्वीर हो ।

बागलुङ ।

सोमबार रातिदेखि परेको वर्षाले गएको पहिरोमा परी बागलुङको बडिगाडमा ६ बालबालिकासहित ८ जनाको ज्यान गएको छ ।

मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका-९ बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको ज्यान गएको हो ।

घर पछाडि आएको पहिरो पन्छाउन गएका परियारलाई पहिरोले पुरेको हो । पहिरो पन्छाउने क्रममै उनको घटनास्थलमै ज्यान गएको थियो भने बस्नेतको पहिरोमा पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले बतायो ।

घटनास्थलमा उद्धार टोली पुगेर घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ । घटनाबारे थप बिवरण आउन बाँकी रहेको बताइएको छ ।त्यस्तै वडा नं १० को आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको ज्यान गएको हो ।

सोही घरमा आएकी छिमेकी सञ्जु बिककी ६ वर्षीया छोरीको पनि ज्यान गएको छ । सोही घटनामा ५९ वर्षीया मैतीदेवी बिकको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयसहितले बुढाको घर पुरिएको स्थानमा खोजी गर्दा शव भेटिएको हो । बिहान १० बजेको समयमा खसेको पहिरोले छिमेकी समेत आएको बेला बुढाको घर पुरिएको थियो । घटनामा अझै कति बेपत्ता छन् भन्ने खुलेको छैन ।

उक्त घटनामा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा बिक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिं बुढा गम्भीर घाइते छन् । उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

  • २२ श्रावण २०८१, मंगलवार १५:५१ प्रकाशित