काठमाडौं ।
काठमाडौं – तराई दु्रतमार्ग अन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थु्र भएको छ । निर्माणाधीन सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बीच काठमाडौं–निजगढ तर्फको धेद्रे सुरुङ ब्रेक थ्रू भएको घोषणा गरे । धेद्रेको ब्रेक थ्रू भएसँगै पोलि छङ्गदा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ । यसअघि लेनडाडाका दुबै सुरुङको ब्रेक थ्रू भइसकेको छ । बाँकी रहेको काठमाडौं–निजगढ तर्फको धेद्रे सुरुङ सोमबार छेडिएको हो ।
कार्यक्रममा प्रधानमन्त्रीको साथमा अर्थमन्त्री, रक्षा मन्त्री, भौतिक पूर्वाधार मन्त्री, प्रधानसेनापतीका साथै नेपालका लागि चिनियाँ र कोरियन राजदूतहरु पनि सहभागी छन् ।कुल ७०.९७७ किलोमिटर लामो द्रूत मार्गमा कुल १०.३०९ किलोमिटर सुरुङमार्ग रहेको छ । यसमध्ये धेद्रे सुरुङ १६९१ मिटर लामो छ ।यस आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन । जसमध्ये सबैभन्दा लामो ३३५५ मिटर लामो सुरुङ महादेवडाडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ ।यो आयोजनाको समष्टिगत प्रगति भने ३५.३८ प्रतिशत पुगेको सेनाले जनाएको छ ।
अहिले ६.५ किलोमिटरदेखि ७०.९७७ किलोमिटर सड्क खण्डमा काम भइरहेको छ । तर, सुरुआती बिन्दुबाट ६.५ किलोमिटर खण्डमा भने विवादका कारण काम सुरु हुन सकेको छैन । ललितपुरको खोकनाबाट बाराको निजगढ निस्कने गरी द्रुत मार्ग बनिरहेको छ ।












