पोखरा ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा कास्कीबाट ६ चयन भएका छन् । एकीकृत समाजवादीको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पोखरा महानगरका प्रमुख धनराज अचार्यसहित ६ जनालाई केन्द्रीय सदस्यमा चयन गरेको हो ।
कास्कीबाट केन्द्रीय सदस्यमा आचार्यसहित कृष्ण नेपाली, रत्ना गुरुङ, मदन आचार्य, सिता पौडेल र सर्मिला पौडेल चयन भएका नेकपा एकीकृत समाजवादी कास्कीका उपाध्यक्ष पूर्ण लामाले जानकारी दिए ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको छ ।
बैठकले दुई सय ५१ केन्द्रीय सदस्य मनोनित गरेको र अब १८ पदाधिकारी छनोट गर्नेछ । गत १६ असार देखि २० असारसम्म सम्पन्न महाधिवेशनले तीन पदाधिकारी र ९० केन्द्रीय सदस्य चयन गरेको थियो । अब केन्द्रीय कमिटी तीन सय ४४ सदस्यीय बनेको छ ।
पार्टीमा केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर विधानअनुसार बनाइएको क्लष्टर तथा सातै प्रदेशबाट सिफारिस नामावलीका आधारमा कार्यदलले केन्द्रीय सदस्य तोकेको एकीकृत समाजवादीका नेता सोमनाथ पाण्डेयले जानकारी दिए । उनका अनुसार आगामी बैठकबाट पदाधिकारी, विभाग र आयोग तथा नेताहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिने छ ।