बुटवल ।
बुटवलबाट हटाइएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चालनमा ल्याएका छन । बुटवल मिलनचोकको सडक विभाग परिसर आन्तरिक राजश्व कार्यालयको भवनमा रहेको कार्यालयलाई यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए ।
तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालादेखि ०७४ सालबाट सो भवनमा मुख्यमन्त्रीको निवास थियो । प्रदेश राजधानी दाङको देउखुरी उपत्यका सरेपछि उक्त निवासलाई सम्पर्क कार्यालय बनाइएको थियो ।प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकार मातहतका निर्देशनालय सहित अन्य धेरै सरकारी कार्यालय पनि बुटवलमै रहेकाले सम्पर्क कार्यालय आवश्यक भएको मुख्यमन्त्री आचार्यको भनाइ छ ।