यातायात व्यवसायीले भौतिक सचिवलाई बुझाए ज्ञापनपत्र

केन्द्रभाग मिडिया

पोखरा । राइड सेयरिङ(निजी सवारीलाई सार्वजनिक सवारी सरह यात्रु बोक्न दिने कार्ययोजना) विरुद्ध गण्डकीका यातायात व्यवसायी सडकमा उत्रिएका छन् । गण्डकी प्रदेशका यातायात व्यवसायीहरूले आज राइड सेयरिङ विरुद्ध पोखरामा ट्याक्सी र्याली निकालेका थिए । उनीहरुले विरोध जनाउँदै भौतिक पूर्वाधार विकास तथा यातायात सचिवलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले ७ बुँदे मागसहित ज्ञापतपत्र बुझाएका हुन् ।

मन्त्री राजीव गुरुङलाई बुझाउने कार्यक्रम भएपनि मन्त्री कार्यालयमा नभएपछि सचिव शंकर पण्डितलाई बुझाएर फर्किएका हुन् ।

उनीहरूले मन्त्रालय नजिकै बस र ट्याकसी सडकमा तेर्स्याएर प्रदर्शन गरेका हुन् । निजी सवारीलाई भाडाका यात्रु बोक्न रोक्नुपर्ने माग गरेका छन् । गण्डकी सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि निर्माण गर्न लागिएको भन्दै आन्दोलन गरेका हुन् ।

आफ्ना माग सम्बोधन नभए साउन १३ देखि सबै गाडी घर र ग्यारेजमा थन्क्याएर प्रदर्शनमा उत्रिने यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगन्द्र केसीले यसअघि पत्रकार सम्मेलनमा चेतावनी दिएका थिए ।

  • १० श्रावण २०८१, बिहीबार १६:१६ प्रकाशित