गोरखाको लखन गाउँपालिकामा फालिएको कटहरबाट वाइन बनाउँदै युवाहरु

केन्द्रभाग मिडिया

पोखरा ।

गोरखाको सहिद लखन गाउँपालिका ४ ताक्लुङमा फालिएको कटहरबाट वाइन बनाउन थालिएको छ । वडाको पहलमा विदेशबाट फर्केर आएका युवाहरूले वाइन बनाउन थालेका हुन् ।

गाउँभरिका कटहर खरिद गरेर वडामा जम्मा पारिएको छ । प्रतिकिलो वडाले किसानलाई २ रुपैयाँ दिएको छ । ‘एउटै डल्लाबाट २५ देखि ३० रुपैयाँसम्म किसानले कमाउँछन् । विदेशबाट फर्केकाको सीप पनि प्रयोग भयो । किसानको उत्पादन पनि खेर गएन,’ वडाध्यक्ष यामबहादुर थापाले भने, ‘अहिले परीक्षण गरिएको हो । अर्को वर्षदेखि अझै व्यावसायिक बनाउने योजना छ ।’

नयाँ प्रविधिको प्रयोग गरेर वाइन बनाउन लागिएको थापाले सुनाए । ‘गाउँमा बाहिरबाट रक्सी ल्याएर खाँदा रकम बिदेसिएको छ । स्थानीय रक्सी उत्पादन भए गाउँमै पैसा बस्छ,’ उनले भने, ‘गाउँमा प्रयोग गरेर बढी भएको वाइन मनकामना र गोरखा बजारसम्म लैजान्छौँ । पालिकाबाट स्वीकृति लिने प्रक्रिया पनि अघि बढाएका छौँ ।’

अघिल्लो वर्ष प्रत्येक घरमा १० वटा कटहरको रुख रोप्न वडाले नै सहयोग गरेको थियो ।

‘अहिले ४ सय लिटर जति उत्पादन हुन्छ । उत्पादन भएका वाइन गाउँका पारखीलाई चखाउने हो,’ थापाले भने, ‘उत्पादन भएपछि ल्याब टेस्टमा पठाउँछौँ । यसको स्वाद र अर्गानिकपनालाई बजारमा बेच्ने योजना बनाएका हौँ ।’ वाइन उत्पादन हुन १५ दिनदेखि डेढ महिनासम्म लाग्ने जानकारहरू बताउँछन् । परीक्षण सफल भए आगामी वर्षदेखि ठुलो परिमाणमा वाइन उत्पादनको काम गरिने वडाध्यक्ष थापाले बताएका छन् ।

  • १० श्रावण २०८१, बिहीबार १०:४३ प्रकाशित