अब मनाङको स्याउ हेर्न टिकट काट्नुपर्ने

केन्द्रभाग मिडिया

अब मनाङको स्याउ हेर्नको लागि टिकट काट्नुपर्ने भएको छ ।

मनाङको ङिस्याङ गाउँपालिका(१ भ्राताङको स्याउ बगैंचा हेर्न जाने पर्यटकलाई टिकटको व्यवस्था गरिएको एग्रो मनाङ प्रालिले जानकारी दिएको छ। स्याउ हेर्नका लागि आन्तरिक पर्यटकले प्रतिव्यक्ति २०० र बाह्य पर्यटकले प्रतिव्यक्ति ४०० रुपैयाँ तिर्नुपर्ने एग्रो मनाङका अध्यक्ष समराज गुरुङले बताए ।

मनाङमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक पुग्ने गरेका छन् ।स्याउबारीमा स्याउ हेर्न पर्यटकको भिड लाग्न थालेपछि स्याउबारीमा पर्यटन प्रवर्द्धन गर्न टिकट प्रणालीको व्यवस्था गरिएको एग्रो मनाङले जनाएको छ ।

स्याउ हेर्न दिनहुँ ६०–७० जना आन्तरिक पर्यटक र ३०–४० जना विदेशी पर्यटक स्याउबारी हेर्न जाने गरेको एग्रोका अध्यक्ष गुरुङले बताए ।दक्षिण एसियामै ठूलो दाबी गरिएको एग्रो मनाङको ७३५ रोपनी जग्गामा स्याउखेती गरिएको छ ।

एग्रो मनाङले ६ वर्षअगाडी इटली र सर्भियाबाट ल्याएर स्याउ रोपेको हो । गत वर्ष ४५० टन स्याउ उत्पादन भएको एग्रो बगानमा यस वर्ष ५०० टन उत्पादन हुने अनुमान गरिएको छ । फार्ममा गाला, गोल्डेन र फुजी जातका स्याउ लगाइएको छ ।

स्याउलाई स्टोर गर्न भ्राताङ, बेसीसहर र काठमाडौंमा कोल्ड स्टोर बनाइएको छ । मनाङका चार स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नासो र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती गरिँदै आएको छ ।

  • २४ मंसिर २०७८, शुक्रबार १३:२८ प्रकाशित