पोखरा ।
मुस्ताङमा ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा शुक्रबार अचानक ढिस्को झर्दा उनीहरू पुरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ।
ज्यान गुमाउनेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका १ घर भएका २३ वर्षकै रवि दर्लामी छन् । उनीहरूको घटनास्थलमै ज्यान गएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













