सिमलताल पहिरो अपडेट : हालसम्म त्रिशूलीमा हराएका २३ जनाको शव भेटियो (नामसहित)

केन्द्रभाग मिडिया

बेपत्ता यात्रुको खोजीमा तीव्रता नवलपुर (नवलपरासी), १ साउन ः चितवनको भरतपुर–२९ सिमलतालमा असार २८ गते शुक्रबार बिहान आएको पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुको शव नवलपुरमा भेटिन सुरु भएपछि नवलपुरतर्फ खोजीमा जुट्दै सुरक्षाकर्मी । जिल्लाको नारायणी नदी किनार, टापु तथा सम्भावित क्षेत्रमा खोजीकार्य तीव्र पारिएको छ । तस्बिरः टेकराज पोखरेल÷रासस

काठमाडौँ ।

त्रिशूलीमा दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीका अनुसार ९ जनाको सनाखत हुन सकेको छैन । सनाखत नभएका शवहरु ८ जना पुरष र १ जना महिलाको छ । असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् । बसमा सवार अन्य यात्रु र दुवै बस बेपत्ता छन् ।

भरतपुर महानगरपालिका स्थित गोलाघाट, पूर्वी नवलपरासीमा पर्ने ब्यारेज पुल, गण्डक नहर र नवलपरासी पश्चिमको त्रिवेणीमा शव भेटिएका हुन् । पूर्वी नवलपरासीमा १६ वटा शव भेटिएको छ ।

फेला परेका शवहरुमा भारतका ऋषिपाल शाह, चितवनका विकाश परियार, सर्लाहीका रमित कुमार माझी,भारतका जय प्रकश ठाकुर, भारतका सजाद अन्सारी,चितवनका सुदिप बिक, बाराका प्रमानन्द पण्डित, गणपति डिलक्सको चालक किशोर कुमार चौधरी, रौतहटका अशोक कुमार यादव रहेका छन् ।

यस्तै रौतहटका ऋषिकुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्र राम महरा, पर्साका चन्द्र प्रभा कुमारी र रौतहटका अमृता कुमारी रहेका छन् ।

९ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ।

  • ४ श्रावण २०८१, शुक्रबार १३:३७ प्रकाशित