पोखरा ।
हिमाली जिल्ला मनाङ प्रवेशका लागि एक मात्रै बेँसीसहर–चामे सडक कालोपत्रेसहित स्तरोन्नति गर्ने तयारी भएको छ। पहिरोका कारण बर्सेनि जोखिममा रहेको सडकलाई चालू आर्थिक वर्षदेखि नै स्तरोन्नति गर्ने तयारी गरिएको हो।
मनाङ प्रवेश गर्ने एउटै मात्र सडक जोखिमपूर्ण हुँदा बर्सेनि स्थानीयले दुःख पाएको भन्दै सडक स्तरोन्नतिको कामलाई विशेष प्राथमिकतामा राखेर अघि बढेको मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले बताए।
नेपाल सरकार र अन्य सरोकारवाला निकायसँगको साझेदारीमा सडक कालोपत्रेसहित स्तरोन्नतिका लागि प्रक्रिया अघि बढेको सांसद गुरुङको भनाइ छ। पक्की सडक निर्माणका लागि बेँसीसहर चामे सडक योजनासँगै मनाङमा निर्माणाधीन जलविद्युत् आयोजनाले पनि सहकार्य गर्ने भएका छन्। मनाङमा निर्माणाधीन जलविद्युत् आयोजनामध्ये सडक विस्तार तथा स्तरोन्नतिका लागि आवश्यक सहकार्य गर्न दानाक्युमा रहेको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना तयार भएको छ।
आयोजना निर्माणका लागि पनि सडक स्तरोन्नति आवश्यक रहेको भन्दै सरकारको काममा आयोजनाको तर्फबाट सक्दो सहयोग गर्ने सो आयोजनाका उपमहाप्रबन्धक प्रतीकमानसिंह प्रधानले बताए। भौगोलिक विकटतासँगै साँघुरो र पहिरोको जोखिममा रहेका सडकको चौडाइ विस्तार गर्ने, कटिङ गर्ने, जोखिम ठाउँमा ढलान र अन्य स्थानमा कालोपत्रे गर्ने तयारी छ। हिउँद र वर्षा सबै समयमा साना तथा ठूला सवारीसाधन सहजै दोहोरो आवतजावत गर्न सक्ने गरी सडक विस्तारको तयारी भएको बेँसीसहर–चामे सडक योजनाका निमित्त प्रमुख इन्जिनियर किरण पोख्रेलले बताए।
सडक स्तरोन्नतिका क्रममा भौगोलिक विकटतासँगै सडक खण्डअन्तर्गतका केही बस्तीमा पनि प्रभाव पर्ने देखिन्छ। खासगरी लमजुङ खण्डको स्याँगे, श्रीचौर, जगत च्याम्चे र मनाङ खण्डमा धारापानी गाउँका केही बस्ती सडक विस्तारको क्रममा प्रभावित हुने देखिएको छ। हिमालपारिको जिल्ला मनाङ प्रवेश गर्ने एक मात्र सडक जोखिमपूर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन्। हिउँदमा हिउँ र वर्षामा बाढीका कारण दर्जनौँ स्थानमा सडक अवरुद्ध हुँदा मनाङका जनताले वर्षौँदेखि सास्ती खेप्दै आएका छन्।
जिल्ला प्रवेशका लागि वैकल्पिक मार्गसमेत नभएको र एउटै मात्र लमजुङ–मनाङ सडक समयमै स्तरोन्नति नहुँदा यात्रुहरूले हैरानी भोग्नुपरेको छ। लमजुङ सदरमुकाम बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म पुग्नकै लागि पनि दर्जनौँ स्थानमा जोखिम मोलेर सवारीसाधन आवातजावत हुँदै आएका छन्। चालू आर्थिक वर्षमा बेँसीसहरदेखि खुदीसम्म करिब आठ किलोमिटर सडक कालोपत्रे भए पनि अझै सो सडकखण्डअन्तर्गत अधिकांश सडक जोखिमपूर्ण रहेका छन्।













