आज यी स्थानमा भारी वर्षाको सम्भवाना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।

गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

  • २९ असार २०८१, शनिबार ०७:५० प्रकाशित