पोखरा ।
तत्कालिन समयमा कास्कीमा नेपाली कांग्रेसको राजनिती गर्ने उद्गम थलोको रुपमा रहेको पुरानो घर भत्काइएको छ । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको उक्त घर निरन्तर वर्षाका कारण क्षती पुगेपछि जोखिम नहोस भनेर भत्काइएको हो ।
उक्त घरमा नेपाली कांग्रेसका संस्थापक नेताहरुको आश्रय स्थल बनेको इतिहाँस रहेको छ । निरन्तरको वर्षासंगै शनिबार साँझ केही भत्किएको सो घरले बटुवालाई समेत जोखिम हुनेभएपछि थप जोखिम नहोस भनेर मंगलबार विहान भत्काइएको हो । सुरुमा कांग्रेसको गण्डकीकै इतिहाँस बोकेको घर भएकाले जोगाउनुपर्छ भन्ने भएर राखिएको भएपनि संरक्षणमा कसैले चासो नदेखाएपछि परिवारले उक्त घर भत्काएका हुन् । पोखरा ४ गैह्रपाटनमा रहेको सो घर स्काभेटरको प्रयोग गरेर भत्काइएको हो ।
नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, सुवर्ण समसेर जवरा र नेताहरु कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला लगायतले पोखरा आउँदा आस्रय लिने पोखराको गैह्रापाटनमा रहेको सो घर कांग्रेस नेता स्व. करुणानिधि कोइरालाले निर्माण गरेका हुन् । करुणनिधि कोइरालाका छोरा राजेन्द्रनिधी कोइरालाले राणा शासनको अन्त्य गर्नेक्रम र त्यसपछि पञ्चायतकालमा समेत कांग्रेसका नेताहरुले पोखरा आउँदा यही घरमा बैठक बसेका जानकारी दिए । उनका अनुसार वीपी कोइराला, सुवर्ण समेर जवरा, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला लगायतका सबै नेता पोखरा आउँदा बस्ने घरको रुपमा यही घरलाई नै उपयोग गरेका हुन् ।
पोखरामा विक्रम सम्बत २००६ सालमा अग्नी काण्ड (पोखरामा धेरै घरमा आगलागी) घट्यो । त्यो काण्ड करुणनिधी कोइरालाको घर पनि आगलागीमा पर्यो । त्यस लगत्तै बनेको घरमा कांग्रेसका सन्त एवं पूर्व प्रधानमन्त्री नेता कृष्ण प्रसाद भट्टराई पछिसम्म आउने गरेका थिए ।पृथ्वी नारायण क्याम्पसका प्राध्यापक भूगोलविद् विश्व श्रेष्ठ यो घर नासिँदा नेपाली कांग्रेसको इतिहाँस नैै नासिएको महसुस् भएको बताएका छन् ।
त्यस्तै पोखरा महानगरपालिका वडा नं ४ का पूर्व अध्यक्ष शंकर प्रसाद बास्तोलाले नेपाली कांग्रेसका लागि ऐतिहासिक घर वर्षाका कारण भत्काउनुपर्दा दुख लागेको वताए ।कास्कीको राजनितीका लागि आउने केन्द्रीय नेताहरु अग्रज नेताहरु विश्वेश्वर प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराइ, गणेशमान सिंह, शुसिल कोइराला र हालका वहालवाला राष्ट्रपति रामचन्द्र पौडेल उक्त घरमा बसेको इतिहाँस रहेको बताउदै बास्तोलाले विगत दुइचार दिन अगाडी वर्षाका कारण केही क्षती भएका कारण भत्काउन परेको र यसलाई ब्यवस्थापन गर्नका लागि पनि भत्काउनुपरेको उनको भनाइ छ ।













