काठमाडौं ।
मनसुन भित्रिएसँगै अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।उक्त अवधिमा बाढीपहिराबाट नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ ।
उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० रुपैयाँ मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।













