प्राकृतिक विपत्ति

बाढीपहिरोका कारण देशभर ८ जनाको ज्यान गुम्यो ६ जना बेपत्ता

केन्द्रभाग मिडिया

पोखरा ।

देशका विभिन्न ठाउँमा भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका ८ जनाको ज्यान गुमेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य ६ जना बेपत्ता छन् भने सातजना घाइते छन् ।

पछिल्लो २४ घण्टामा देशका ४५ भन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको ज्यान गुमेको हो ।

प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी ६ जना बेपत्ता भएका जानकारी दिए । अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आज विहान कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आजपनि देशभर वर्षा हुनुका साथै धेरै ठाउँमा धेरै वर्षा र अति धेरै वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ ।

  • २३ असार २०८१, आईतवार ०७:२९ प्रकाशित