बाढीपहिरोमा परेर स्याङ्जा, तनहुँ र पर्वतमा गरेर ८ जना बेपत्ता

केन्द्रभाग मिडिया

तस्बिर : सामाजिक सञ्जाल

पोखरा ।
अविरल वर्षासंगै गण्डकीका तीन जिल्लामा घरमाथीबाट आएको पहिरोले बगाउँदा ८ जना बेपत्ता भएका छन् । स्याङ्जा, तनहुँ र पर्वतमा गरेर पहिरोले घर बगाउँदा ८ जना बेपत्ता भएका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका हुन् ।

उनका अनुसार स्याङ्जाको विरुवा गाउँपालिका ६ अर्चलेमा ६५ वर्षीय गुहेश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधव शर्मा र उनका श्रीमति ६७ वर्षीय हरिमायाँ शर्मा बेपत्ता भएका छन् । घरमाथि बाट आएको पहिरोले घर पुर्दा घरसंगै उनीहरु पुरिएका हुन् ।

तनहुँमा सुक्लागण्डकी ६ का ४० वर्षीय हिरा नेपाली, ३७ वर्षीया अनिता वास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका छन् । उनीहरु  सुनमयाँ कुमालको घरको सामान निकाल्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।

यता पर्वतको फलेवास नगरपालिका वडा नम्बर १ कार्किनेटामा कुलप्रसाद उपाध्याएको घर माथिबाट पहिरो आएर पुरिँदा दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सोही ठाउँका ४० वर्षीय झलक पौडेल र स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय तुलसी प्रसाद पौडेल बेपत्ता भएका हुन् ।

तुलसी प्रसाद पौडेल गाइबस्तु चराउन गएका र कुलप्रसादको घरमा ओत लाग्न पुगेका प्रहरीले जनाएको छ । पहिरोले चार बाख्रा, दुई भैंसी र एउटा गोरु समेत पुरेको गण्डकी प्रदेश प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिए ।

  • २२ असार २०८१, शनिबार १७:५८ प्रकाशित