पोखरा ।
निरन्तरको वर्षाका कारण आएको पहिरोको कारण पोखरासंग जोडिएको तीन वटै राजमार्ग अबरुद्ध भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपीशेरचन राजमार्ग अबरुद्ध भएको हो ।
पृथ्वी राजमार्ग तनहुँको म्याग्दे ४ स्थित मनहरा सडकखण्डमा तीन वटा बस र ट्रक फस्दा बाटो अवरुद्ध भएको हो । विहान ६ः५० देखि अबरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
सिद्धार्थ राजमार्गको वालिङ र गल्याङ सडक खण्डको ठाउँ ठाउँमा गएको पहिरोले सडक अबरुद्ध छ । विहान ६ बजेदेखि नै सो राजमार्ग अबरुद्ध रहेको प्रवक्ता रेग्मीले जानकारी दिए ।
उनका अनुसार वालिङ ८ को ओमशान्ति नजिक, वालिङ १० को मोदीखोला, गल्याङ ८ को चिउरी र गल्याङ ११ को मुङ्चिलामा आएको पहिरोका कारण बाटो अबरुद्ध भएको हो ।
यसैगरी भूपी शेरचन राजमार्गको मालढुंगा-बेनी सडक पनि बिहान ५ः५० देखि अबरुद्ध भएको छ । पहिरोकै कारण उक्त सडक खण्ड अबरुद्ध भएको एसएसपी रेग्मीले जानकारी दिए ।
उनका अनुसार अबरुद्ध भएका सबै ठाउँमा सडक खुलाउने प्रयास जारी छ । निरन्तर वर्षा भइरहेको र अबरोध हटाउन पनि कठिन रहेको उनले जानकारी दिए । साथै अरु स्थानमा पनि पहिरो जानसक्ने जोखिम रहेको उनले सुनाए ।