बन्द हुँदै वेबसाइट र्‍याङ्किङ गर्ने ‘एलेक्सा’

केन्द्रभाग मिडिया

काठमाडौं ।

वेबसाइट र्‍या‌ङ्किङ मापन गर्दै आएको साइट एलेक्सा बन्द हुने भएको छ ।

अमेजनले आफ्नो सहायक कम्पनी एलेक्सा बन्द गर्ने योजना सार्वजनिक गरेको हो । वेबसाइटको र्‍यांक मापन गर्दै आएको यो साइट विगत २५ वर्षदेखि सञ्चालनमा छ ।

एलेक्साले कुनै पनि वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरूको र्‍याङ्किङ मापन गर्ने गर्छ । नेपालमा पनि यो साइट हेरेर आफ्नो साइटको र्‍यांक हेर्ने गरेका छन् ।

एलेक्साले कुनैपनि वेबसाइटको सर्च इन्जिन अप्टमाइजेसन (एसइओ), अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा समेत उपलब्ध गराउँदै आएको थियो । कम्पनीका अनुसार सन् २०२२ को मे महिनाबाट यो पूर्णरूपमा बन्द हुने जनाएको छ ।

‘हामीले एलेक्सा आजभन्दा २५ वर्षअघि सुरुवात गरेका थियौ, दुई दशकभन्दा बढी तपाईंहरूलाई सेवा दिन पाउनु एक महत्वपूर्ण अवसर थियो । तर, अब भने हामी यसलाई बन्द गर्दैछौं । जुन हाम्रा लागि एकदमै कठिन निर्णय हो । यो आउँदो मे १ तारिखबाट पूर्णरूपमा बन्द हुनेछ ।’ अमेजनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

  • २३ मंसिर २०७८, बिहीबार १३:५३ प्रकाशित