वर्षासंगै आएको पहिरोमा परेर कास्कीमा दुईजनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।
गएराति देखि परेको अविरल वर्षाका कारण पहिरोमा परी कास्कीमा दुइजना वालवालिकाको ज्यान गएको छ भने एक जना घाइते भएका छन । पहिरोमा परि ज्यान गुमाउनेमा कास्की मादी गाँउपालिका ५ चितेपानी घुम्तीका १३ वर्षिय आयुस्मा रानाभाट र पोखरा २७ आरुपाटाका ३ वर्षिय अनमोल सुनार रहेका छन ।

गएराति दुुइ बजेको समयमा मादी ५ चितेपानी घुम्ति स्थितमा प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घरको पछाडी पट्टीको माटोको ढिस्को खसेर पुरिँदा  आयुस्माको ज्यान गुमेको हो । उनीसंगै सुतेकी हजुरआमा लालमाया बन्जारी घाइते भएकी छन् । बन्जारीलाई सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्तराज शर्माले जानकारी दिए । उक्त घरमा राति दुुइजना मात्र सुतेको र घरको पछाडीको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

त्यसैगरी गएराति ३ बजेको समयमा पोखरा महानगरपालिका २७ आरुपाटा स्थित हरि सुनारको ढुंगामाटोले बनेको दुुइकोठाको कच्ची घर अविरल वर्षाका कारण माथीबाट पहिरो आई भत्किदा सुनारका ३ वर्षिय छोरा अनमोल सुनारको ज्यान गएको प्रहरीले जनाएको छ । घर भत्किदा सुनारको श्रीमती रितु सुनार घइते भइ गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घर भत्किदा हरि सुनार र उनकी छोरी अंजली सुनाररको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ । पहिरोले घर पूर्ण रुपमा क्षती भएको छ ।

त्यसैगरी अबिरल वर्षाको कारण पृथ्वी राजमार्ग अन्तर्गत पोखराको चाउथे आनन्द टोल स्थित घट्टे कुलोको पानी वाहव बढ्न गइ पृथ्वी राजमार्ग सडक खण्ड भासिएका कारण एकतर्फी रुपमा सडक सुचारु रहेको कास्की प्रहरीले जनाएको छ । अविरल बर्षाका कारण विहान साढे ६ बजे सडकको दाँया साइड अन्दाजी ५ मिटर लम्बाइ र अन्दाजी साढे एक मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको र उक्त स्थान देखी अन्दाजी १० मिटर अगाडी सडक खण्डको दाँया तर्फ अन्दाजी ७ मिटर लम्बाइ र अन्दाजी १ मिटर चौडाइ भासिएर खसेको र सडक एकतर्फी सुचारु रहेको र मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।

  • १२ असार २०८१, बुधबार ०८:४६ प्रकाशित