बैतडी ।
बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको हो ।
जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराई, पाटन नगरपालिका–१ सकारकै १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेका छन् ।।
यसैबीच दुर्घटना परी अन्य पाँच जना घाइते छन्। घाइतेमध्ये पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईको अवस्था गम्भीर छ। यी दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा सिफारिस गरिएको छ।
अन्य घाइते पाटन नगरपालिका–१ सकारकै दीपक भट्टराई, विष्णु भट्टराई र गोविन्द विकको पाटन प्राथमिक उपचार केन्द्रमै उपचार भइरहेको छ ।
दुर्घटनाग्रस्त जीप सडकबाट १०० मिटर तल खसेको थियो। जीपमा चालकसहित ११ जना सवार रहेको बताइएको छ। चालक पाटन–५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन्।