स्वास्थ्य

आई.पि.भी(पोलियो) खोप अभियान : बालबालिकालाई खोप लगाउन उत्साहित गर्न स्वास्थ्य मन्त्रालय गण्डकीको आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

यही जेठ १३ गते देखि देशभर सञ्चालन हुन लागेको आई.पि.भी खोप अभियान गण्डकी प्रदेशमा पनि तीव्र पारिएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका ११ वटै जिल्लामा आई.पि.भी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
पोलिइव रोगलाई निर्मुल पार्नका लागि राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशमा आई.पि.भी खोप अभियान चलाइने मन्त्रालयले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

२०७१ सालबाट सुरु भएको आई.पि.भी खोप २०७३ सालको प्रारम्भदेखि विश्व बजारमा अभाव हुदाँ दुई वर्ष भन्दा बढी अवधि सम्म यो खोप लगाउनबाट छुटेका बालबालिकाहरुलाई पालियो रोग लाग्ने जोखिम रहेकाले छुटेकालाई यो खोप दिने उद्धेश्यले खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिए ।

शर्माको अनुसार नियमित खोप तालिका अनुसार आई.पि.भी खोप दिनुपर्ने उमेर र उक्त समयमा यो खोप लगाउन छुट भएका हालको उमेरलाई विश्लेषण गरी बालबालिकाहरुको उमेर समुह निर्धारण गरिएको छ ।

जस अनुसार २०७३ वैशाख देखि २०७५ आश्विन सम्म जन्मिएका बालबालिकाहरुलाई मात्र यो खोप दिने गरि लक्ष्य निर्धारण गरिएको र सोही आधारमा खोप तथा खोप जन्य सामाग्रीको आपूर्ति तथा व्यवस्थापन गरिएको छ ।

यस अभियानका लागि निर्धारण गरिएको उमेर समुहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकोले खोप सेवा पनि विद्यालयमै गएर प्रदान गरिने बताइएको छ ।

विद्यालय नजाने बालबालिकाहरु र विद्यालयमा खोप लगाउन छुट भएका बालबालिकाहरुका लागि पायक पर्ने स्थानमा सञ्चालन हुने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा सञ्चालन हुने खोप केन्द्र मार्फत खोप लगाइने भएको छ ।

खोप अभियानलाई प्रभावकारी बनाउन विद्यार्थी तथा बालबालिकालाई खोप लगाउन उत्साहित गर्न साथै समुदायमा खोप अभियानको बारेमा सुचना सम्प्रेषण गरिदिन विद्यालय तथा सञ्चारमाध्यमहरुलाई मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशका ११ वटै जिल्लाहरुमा खोप अभियान सम्बन्धि गोष्ठी, स्वास्थ्यकर्मी, स्वयंमसेवक र विद्यालयका शिक्षकहरुको अभिमुखिकरण यसअघि सम्पन्न गरिसकेको छ ।खोप अभियानका लागि आवश्यक सामाग्री र खोप प्रदेशका सबै जिल्लामा पुगीसकेको छ ।

खोप अभियानमा स्थानीय सरकारलाई अगाडि सार्नुपर्ने मन्त्रालयका सचिव शर्माले बताए ।

नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । खोपले शिशु तथा बाल मृत्युदर घटाउन योगदा पुराउँछ ।

  • ११ जेष्ठ २०८१, शुक्रबार ११:१९ प्रकाशित