सर्लाहीको विष्णु गाउँपालिका– १, स्थित बाराउद्योरण गाउँमा आगलागी हुँदा ७५ वटा घर जलेका छन्।
स्थानीय शत्रुघन राउतको घरमा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा टोलमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालस सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।
उनका अनुसार फुसको घरबाट सल्किएको आगो एकपछि अर्को घर हुँदै सिंगो गाउँमै फैलिएको थियो। आगोमा झुल्सिएका कयौँ घरहरूमा पनि लगातार ग्यास सिलिन्डर बिस्फोट भएको थियो।
आगलागीमा परेका घरहरुमा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कागजात, पैसा लगायतका सामग्री नष्ट भएको छ।
ती घरहरुमा भएको क्षतिको विवरण अहिले संकलन भइरहको डिएसपी श्रेष्ठले बताए। समयमा आगो निभाउन दमकल नपुगेका कारण बढी क्षति भएको प्रहरीले जनाएको छ।
आगलागी भएको विष्णु गाउँपालिकामा दमकल छैन। हरिवन र मलंगवा नगरपालिकामा मात्रै दमकल छन्।
मलंगवा नगरपालिकाले दमकल बिग्रेको बताएको र हरिवनका दमकल अर्को ठाउँमा लागेको आगो निभाउन गएकाले ढिलो दमक पुगेको डिएसपी श्रेष्ठले बताए।













