निरन्तर ओरालोमा पेट्रोलियम पदार्थको मूल्य

केन्द्रभाग मिडिया

पोखरा ।

पेट्रोलियम पदार्थको मूल्य निरन्तर ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार छैटौं साता पेट्रोलियम पदार्थको भाउ ओरालो लागेको हो। सन् २०१८ यता पहिलोपटक लामो समयसम्म तेलको भाउ यसरी ओरालो लागेको हो ।

पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) र उसका सहयोगीले तेल उत्पादन बढाएसँगै तेलको भाउ निरन्तरले घटेको हो। यस साता अमरिकी कच्चा तेलको भाउ २.८ प्रतिशतले घट्यो ।

विशेषगरी ओमिक्रोन भेरियन्टबारे फैलिएको आशंकाले तेलको भाउ घट्नमा सहयोग पुगेको हो। त्यस्तै ब्रेन्ट कच्चा तेलको भाउमा पनि गिरावट देखिएको छ।

प्रतिब्यारेल ८५ डलरको हाराहारीमा पुगेका अमेरिकी कच्चा तेल र ब्रेन्ट कच्चा तेलको भाउ अहिले प्रतिब्यारेल ७० डलरभन्दा कम छ ।

ओपेक र उसका सहयोगी मुलुकले आगामी जनवरीबाट प्रतिदिन ४ लाख ब्यारेलले उत्पादन बढाउने निर्णय गरेका छन् । पछिल्लो समय तेलको माग अत्यधिक हुँदा भाउ घट्न सकेको थिएन ।

 

  • १८ मंसिर २०७८, शनिबार १५:३८ प्रकाशित