ट्याङ्करको ठक्करबाट प्रहरी जवानको ज्यान गयो

केन्द्रभाग मिडिया

बारा ।

ट्याङ्करको ठक्करबाट बारामा एकजना प्रहरी जवानको ज्यान गएको छ । जितपुर–सीमरा गोल्डकपको फाइनल खेल हेर्न गएको प्रहरी जवानको तेल ट्याङ्करले ठक्कर दिँदा ज्यान गएको हो ।

बारा प्रहरीका अनुसार ज्यान जानेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षका दिनेश बहादुर परियार रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ दूरसञ्चार नजिक ट्याङ्करको ठक्करबाट उनको ज्यान गएको बारा प्रहरीले जनाएको हो ।

पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको तेल ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक प्रहरी जवान परियारलाई उपचारका लागि परवानीपुरको एलएल न्यूरो अस्पताल पठाइएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

तेल ट्याङ्कर नियन्त्रणमा लिइएको र चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

  • ४ बैशाख २०८१, मंगलवार १५:४५ प्रकाशित