प्राविधिक डीआईजीको विशेष पदमा अर्याल र गुरुङ सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय नविन्द्र अर्याल र डा. देउती गुरुङ प्रहरी नायव महानिरीक्षक (डीआईजी)पदमा बढुवा सिफारिस भएका छन् ।

उनीहरुलाई बढुवा गर्न सरकारले प्रहरी नायब उपरीक्षक (डीआईजी) का २ विशेष दरबन्दी थप गरेको थियो । २२ चैतमा बसेको मन्त्रिपरिषद बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डीआईजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको थियो ।

सोही विशेष दरबन्दीमा अर्याल र डा.गुरुङ बढुवा सिफारिस भएका हुन् । अर्याल नेपाल प्रहरीको साइबर व्युरो प्राविधिक सहायता शाखा काठमाडौंमा र डा. गुरुङ केनाइन कार्यालय महाराजगञ्जमा कार्यरत छन् ।

अर्याल ८४.९०६२ अंकसहित र डा। गुरुङ ८०.६०६८ अंकसहित बढुवा सिफारिसमा परेका गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

  • ४ बैशाख २०८१, मंगलवार ११:१९ प्रकाशित