महोत्तरी ।
मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।
वासन्ती छठ षष्टि तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै पारन (समापन) गरिन्छ । शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइने परम्पराको छठ पर्व यस वर्ष (२०८०) को अब (आज) सम्पन्न भएको छ । यो छठ २०८० को भए पनि यसपालि सौरमास गणनाले २०८१ मा परेको हो । गत साउन महिनाको अधिकमास प्रभावले चन्द्रमास गणनाका तिथि पछि धकेलिँदा वासन्ती छठले २०८१ वैशाख टेकेको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।
मिथिला क्षेत्रमा आजको सूर्योदय बिहान ५ बजेर ४१ मिनट समयको हाराहारीमा भएको हो । यसअघि व्रतालु सूर्योदय हुनु एक घडिपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए । यसअघि गत कात्तिकमा शरद ऋतुको छठ कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइएको थियो ।
गत शनिबार पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका व्रतालुले राति १० बजेतिर सख्खरमा पकाइएको खिरमात्र खाएका थिए । व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन भएको छ । छठमा उदाउँदो सूर्यलाई दिइने अर्घ्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।आज बिहान अर्घ्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी व्रतालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् ।पर्व सकिएसँगै घरघरै प्रसाद खाने-खुवाउने क्रम सुरु भएको छ ।













