प्रदेश अनुगमन टोलीको एक्सन

पोखरामा बोटलर्सको उपभोग्य मिति नाघेका एक लाख ३० हजार मूल्यका पेय पदार्थ नष्ट (भिडियो )

केन्द्रभाग मिडिया

पोखरा ।

उपभोग्य म्याद नाघेका एक लाख ३० हजार १७० रुपैयाँ मूल्य पर्ने बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको उत्पादन कोक, फ्यान्टा र स्प्राइट गण्डकी प्रदेश अनुगमन समितिले नष्ट गराएको छ । उजुरीका आधारमा अनुगमनका क्रममा सोमबार पोखरा १६ को एक गोदाममा म्याद गुज्रेका ती पेय पदार्थ भेट्टिएका थिए ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक इश्वरी प्रसाद रेग्मी नेतृत्वको अनुगमन टोलीले उपभोग्य म्याद नाघेका पेय पदार्थ नष्ट गराएको हो । निर्देशनालयका निर्देशक रेग्मीका अनुसार २५० मिलिलिटरका दुई हजार ४६९ बोत्तल, एक लिटरका १०३ बोत्तल, २५० मिलिलिटरका ११ बोत्तल र ५०० मिलिलिटरको ४६ बोत्तल पेय पदार्थ नष्ट गराइएको हो ।

बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको वितरक इमान ट्रेडर्सले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘च’ बमोजिमको कसुर गरेको र सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (क) देखि (ङ) बमोजिम कारबाही गर्दै म्याद जुज्रेका सामगी नष्ट गराइएकोे निर्देशक रेग्मीले जानकारी दिए ।

यस अगाडि सोमबार अनुगमन टोलीले अनुगमन गर्दा भेट्टिएका उपभोग्य मिति सकिएका पेय पदार्थ तीन दिन भित्र नष्ट गर्ने व्यवस्था गरेर कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको थियो । निर्देशन बमोजिम नै इमान ट्रेडर्सका सञ्चालक इश्वरी रानाभाटले कार्यलयमा उपस्थित भएर म्याद नाघेका पेय पदार्थ नष्ट गर्ने व्यवस्था मिलाएका हुन् ।

सञ्चालक रानाभाटले आफूले गलत उद्देश्य नराखेको भएपनि असाबधानीका कारण उपभोग्य मिति कायम रहेको र सकिएको पेय पदार्थ एकै ठाउँमा राख्दा समस्या आएको बताए । उनले अनुगमनले आफूलाई सचेत गराएको र व्यवसाय गर्न सिकाएको प्रतिक्रिया दिए । उनले बेलाबखत यसरी अनुगमन गरिदिए आफू र अन्य व्यवसायी पनि सचेत हुने उल्लेख गरे । ‘मैले राम्रो गरेको छु भन्ने लागेको थियो । गलत नियत राखेर कहिल्यै काम गरिनँ । तर उपभोग्य मिति नाघेका सामान र ननाघेका सामान एकै ठाउँमा राख्ने मेरो गल्ति भयो । यो अनुगमनले मलाई पाठ सिकाएको छ’ उनले भने ।

सो अबसरमा उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत मुकुन्दराज पौडेल,  उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत अमर नेपाली,  राम प्रसाद पौडेल, नगेन्द्र पौडेल, कर्मचारी संगिता पौडेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक सूर्यबहादुर थापामगर लगायतको उपस्थिति थियो ।

  • २७ चैत्र २०८०, मंगलवार २०:१४ प्रकाशित