बिरालोले टोकेपछि सुई लगाउन गएकी महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

धनगढी ।

सेती प्रादेशिक अस्पताल धनगढीमा बिरालोले टोकेपछि सुई लगाउन गएकी एक जनाको ज्यान गएको छ । कैलालीको भजनी नगरपालिका ४ खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० बर्सिया सीता डंगौराको ज्यान गएको हो ।

मृतकका आफन्त मनीषा चौधरीका अनुसार चैत १५ गते घरको बिरालोले डंगौराको खुट्टामा नङले कोपरेको थियो । केही भइहाल्छ कि भनेर उनी रेबिज विरुद्धको सुई लगाइन् । गत आइतबार (१८ गते) रेबिज विरुद्धको दोस्रो डोजको सुई लगाउन पनि उनी आफै अस्पताल पुगेकी थिइन् । डाक्टरले सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै डंगौराले बहिनीलाई फोन गरिन् । उनको बहिनी अस्पताल नपुग्दै उनलाई भेन्टिलेटरमा राखिसकेको बताइएको छ।

अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेको छ । तर मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बिरालो, कुकुरसहित जङ्गली जनावरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउनुपर्ने निर्देशिका छ । तर विरलैमा यो समस्या देखिने उनको भनाइ छ । यसमा अस्पताल वा चिकित्सकको कुनै गल्ती नभएको कमरको भनाइ छ ।

  • २२ चैत्र २०८०, बिहीबार १०:४८ प्रकाशित