त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरणमा रोक

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । उडान भने निरन्तर हुनेछ ।

अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप हुनेछ ।

काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी-वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु-जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको जानकारी दिए । यसबाट पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन् । यस्तो रोक अनुमानित तीन महिनाका लागि भएको तिवारीले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एडिबीको सहयोगमा सन् २०१०-२०२८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेर विभिन्न काम गर्दै आएको । एडिबीले सन् २००९ देखि नै गुरुयोजना अनुरूप हवाई यातायात क्षमता अभिवृद्धि आयोजना (एटीसीईपी) मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको प्रारम्भिक चरणमा सहयोग गर्दै आएको छ ।

  • १९ चैत्र २०८०, सोमबार १०:४९ प्रकाशित