पोखरा ।
मादी गाउँपालिका वडा नम्बर १२ मा रहेको लिपेयनीस्थित स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्ममा पालिएका २८० बाख्रा मर्नुको कारण हैजा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराले जनाएको छ ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराका प्रवक्ता एवं वरिष्ठ पशुरोग विशेषज्ञ डा. गणेश केसीले उक्त फार्मबाट ल्याइएको नमूना परीक्षण गर्दा पीपीआर (भेडा बाख्रामा लाग्ने महामारी रोग हैजा) पुष्टि भएको जानकारी दिए । साथै गोलो जुका परेको देखिएको उनले बताए ।
धेरै बाख्रा मरेपछि जानकारी आएकाले आँफूहरुले धेरै बाख्रा बचाउन नसकिएको बताए । ‘हामीले ढिलोगरी जानकारी पायौं । सुरुमै जानकारी पाएको भए केही बचाउन सकिन्थ्यो होला । ६ वटा नमूना संकलन गरेर ल्याएका थियौं । हेर्दा पीपीआर देखिएको छ । यस्तै गोला जुका पनि पुष्टि भएको छ’ उनले भने, ‘हाम्रो प्रारम्भिक अनुमान पीपीआर कै संक्रमण हो ।’
उनका अनुसार बाख्रामा केही पोषणको कमी देखिएको हो । । पीपीआरलाई भेडा बाख्राको हैजा नै भनिने भन्दै उनले यो एक प्रकारले भाइरल रोग रहेको जानकारी दिए । यसबाट बच्न खोप नै लगाउनु पर्ने बताए । यद्यपी खोपको गुणस्तर र स्वयम पशुको स्वास्थ्य अवस्थाले पनि खोपको प्रभावकारिता फरक पर्ने उनको भनाइ छ ।













