पोखरा ।
मादी गाउँपालिका वडा नम्बर १२ मा रहेको एक फार्मका सम्पूर्ण बाख्रा मरेका छन् । २८० बाख्रा रहेको लिपेयनीस्थित स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बाख्रा मध्ये तीन वटा मात्र बाँकी रहेका फार्मका सञ्चालक नारायण प्रसाद बरालले जानकारी दिए ।
घाँस, दाना, पानी नखाने, सिंगान बगाउने र र्याल काट्न थालेपछि बाख्रा एकाएक झोक्राउँदै मर्न थालेको उनले बताए । उनका अनुसार पछिल्लो १०/२० दिनको अबधिमा सबै बाख्रा मरेका हुन् । गत पुसमा बाख्राले सिंगान बगाउने र झोक्र्याउने लगायतका समस्या देखिएको र केही बाख्रा मरेका थिए । चिसो मौसममा केही बाख्रा विगतमा समेत मर्ने गरेका औषधी लगेर खुवाएको र ठिक पनि भएको उनको भनाई छ ।
‘गत पुसमा केही लक्ष्यण देखिएको थियो । पालिकामा रहेका विज्ञलाई देखाएर औषधी गरेपछि निको भएको हो । अहिले पनि पालिकाकै विज्ञलाई देखाउँदा ल्यावमा पठाउन सल्लाह दिनुभयो । त्यसपछि ल्यावमा परीक्षण गर्न पठाएको हो । तर, सबै बाख्रा मरे’ उनले भने ।
पशु चिकित्सक ल्याएर जाँच गर्दा क्रोनिक निमोनिया पत्ता लागेको उनले बताए । पशु चिकित्सकलाई सम्पर्क गरेपछि बाख्राको घाँटीमा इन्जेक्सन लगाए पनि सुधार नभएको उनले जानकारी दिए । करिब ५ करोडको लागतमा २०७४ बाट फार्म सञ्चालन गरेका बरालले ठूलो संख्यामा बाख्रा मर्दा डेढ करोड क्षति भएको बताए ।
बरालले गत वर्षमात्र बाख्रा तथा बोका बेचेर ३८ लाख रुपैयाँ आम्दानी गरेका थिए । यसवर्ष ५० लाख कमाइ हुने उनको अपेक्षा थियो । एउटा माउ बाख्रालाई डेढदेखि दुई लाखसम्म हालेर किनेको बताउँदै उनले भने, ‘अष्ट्रेलियन जातको बोएर बाख्रा हुन् । यसबाट आम्दानी राम्रो भएको थियो एकाएक रोग लागेपछि लगानी नै डुब्यो ।’
नेपाल इन्स्यूरेन्स कम्पनीमा १० देखि बढिमा ४० हजारको मात्र बीमा गरिएको सञ्चालक बरालले बताए । ‘एटा बाख्राको त्यही १० देखि ४० हजार सम्म इन्सुरेन्सले बेहोर्छ । त्यही १० प्रतिशत इन्सुरेन्सले कभर गर्ला बाँकी कसरी उठ्ने भन्ने तनाव बढेको छ’ उनले भने ।
मादी–१२ का वडा अध्यक्ष कृष्णराज दाहालले वडामा केही गरौं भनेर लागेको किसानको यत्रो क्षतिहुँदा दु:ख लागेको बताए । उनले ‘पालिकाको तर्फबाट के सकिन्छ राहतको लागि पहल गर्छौैं, प्रदेश सरकारलाई पनि आग्रह गर्छाैं’ भनेका छन् । ‘गाउँमा केही गर्छु भनेर अष्ट्रोलिया देखि बएर जातको बाख्रा र बोका ल्याएर पाल्नु भएको हो । उहाँको उत्साहलाई मर्न दिनुहुँदैन । हामीले के सकिन्छ प्रयास गर्ने हो’ उनले भने ।













