माछापुच्छ्रे परोपकार संस्था द्धारा सहयोग तथा सम्मान

केन्द्रभाग मिडिया

पोखरा । माछापुच्छ्रेपरोपकार संस्था लाहाचोकले एक समारोहबीच विभिन्न प्रतिभालाई सम्मान तथा प्रोत्साहन गरेको छ । संस्थाले शनिवार लाहाचोकका अग्रज समाजसेवी, युवा कृषक, खेलाडी, जेहेन्दार विद्यार्थी, ज्येष्ठ आमालाई सम्मान र घाइतेलाई सहयोग अर्पण गरेको छ । समारोहमा ज्येष्ठ समाजसेवीतर्फ हर्कबहादुर गुरुङ, प्रेमप्रसाद पौडेल, युवा कृषकतर्फ आनन्द अधिकारी, ओमप्रकाश अधिकारी, रमेश जिसी र खेलतर्फ सुजन नेपालीलाई सम्मान गरिएको थियो । सोही समारोहबीच संस्थाले झिझीर्का निवासी दुर्घटनाकी घाइते बबिता अधिकारीका लागि ४० हजार सहयोग हस्तान्तरण गरिएको थियो ।

संस्थाले महेन्द्र मावि लाहाचोककी छात्रा कुसुम नेपालीलाई नगद आठ हजारसहित शैक्षिक सामग्री र विद्यालयलाई खेलकुद सामग्री सहयोग समेत गरेको छ । समारोहमा समाजका ज्येष्ठ विपन्न आमा लक्ष्मी नेपाली, जुना परियार, विष्णुमाया कामी, रुकी परियार र लीला रानाभाटलाई साडीचोलो र चप्पलसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि अर्जुनबहादुर शाहीले परदेशमा बसेका गाउँका भाइछोराले थालेका सामाजिक कामले गाउँप्रतिको माया बढाउने भएकाले आफ्नातर्फबाट सक्दो सहयोग गर्दै आएको बताए ।

उनले ज्ञान आर्जनका लागि समाजका हरेक व्यक्ति प्रेरणाका श्रोत बन्ने भएकाले राम्रो नराम्रो टिकाटिप्पणी भन्दा त्यसबाट आफूले ग्रहण गर्ने शिक्षा नै महत्वपूर्ण कुरा रहेको धारणा राखे । लाहाचोक ४ का वडाध्यक्ष मधुसुदन अधिकारीले वैदेशिक रोजगार मञ्च विधिवत माछापुच्छ्रे परोपकारी संस्था भएर अगाडि बढेको देख्दा खुसी लागेको बताए । उनले आफू सरकारमा बसेर पनि गर्न नसकेका कार्यक्रम परोपकारी मञ्चले गरेको भन्दै लाहाचोक प्रकृतिको वरदान भएकाले अझ समुन्नत बनाउन सबैलाई एक भएर लाग्नसमेत आग्रह गरे ।

लाहाचोक ४ का पूर्व वडाध्यक्ष पूर्णबहादुर शाहीले गाउँको विकासका लागि एक्लो जनप्रतिनिधिले केही गर्न नसक्ने भएकाले सबै गाउँलेलाई विकासको अभियानमा एकजुट हुन आग्रह गरे । भूतपूर्व डिएसपी राजेन्द्र अधिकारीले माछापुच्छे« परोपकारी संस्थाका हिजो सुनेका भन्दा आज प्रत्यक्ष देखेका गतिविधिबाट आफू निकै प्रभावित भएको धारणा राखे । स्वतन्त्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष असफल गौतमले जन्मभूमिमा भरोसा नपाएर परदेश भएकाहरू परदेशबाट स्वदेशको विकास र समृद्धिमा लगाएको चिन्तनप्रति स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको बताए ।

युवा संघ नेपाल कास्कीका अध्यक्ष पानबहादुर जिसीले गाउँले धेरै आशा गरेका संस्थाका गतिविधिलाई थप उचाइमा पु¥याउन सब एक भएर अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा लाहाचोक साहित्य सदनका अध्यक्ष लिलाधर अधिकारी अभिलाषी, सिर्जना साहित्य सदनका सचिव पदम नेपाल, समाजसेवी मिनराज अधिकारीलगायतले परोपकारी मञ्चका गतिविधिको प्रशंसा गरेका थिए । समारोहमा सुरक्षा शाही, दिपेश नेपाली, कृष्टिना जिसी, लाहाचोक नौमती बाजा समूहले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए ।

इन्द्रप्रसाद अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा संस्थाका अध्यक्ष प्रदीप क्षत्रीले कार्यक्रम संयोजक राजु क्षत्री अपुरोको अथक प्रयास र मेहनतको प्रतिफल नै आजको कार्यक्रम रहेको बताए । संस्थाका सचिव सुशील श्रेष्ठले संस्था विधिवत स्थापनापछि पहिलो प्रारम्भिक साधारण सभासहितको कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।

  • १७ चैत्र २०८०, शनिबार २०:४३ प्रकाशित