गण्डकी प्रदेशमा २९ ‘घुमुवा’ प्रहरी हटाइए

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशभरका प्रहरी कार्यालयबाट २९ सादा पोसाकका प्रहरी (घुमुवा) हटाइएका छन्  । गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले घुमुवा हटाएको हो  ।

सूचना संकलन तथा अपराध अनुसन्धानका लागि भनेर सादा पोसाकमा खटिने प्रहरी गैरव्यावसायिक गतिविधिमा संलग्न रहेको भन्दै हटाउन बिहीबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको थियो । त्यही निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले देशभरिका प्रहरी कार्यालयलाई तत्काल घुमुवा प्रहरी हटाएर नियमित ड्युटीमा खटाउन परिपत्र गरेको थियो  ।

परिपत्रलाई कार्यान्वयन गर्दै गण्डकीका ११ वटै जिल्लाबाट २९ घुमुवा प्रहरी हटाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सारदा प्रसाद चौधरीले जानकारी दिए । निर्देशन अनुसार सबैजसो कार्यालयबाट सादा पोसाकका प्रहरी नियमित ड्युटीमा खटिन थालेको एसएसपी चौधरीले बताए । अपराध अनुसन्धान गर्ने विशिष्टीकृत निकाय र अपराध अनुसन्धान शाखामा काम गर्नेबाहेक अन्य सादा पोसाकमा खटिन रोक लगाइएको हो ।

गण्डकी प्रदेशको राजधानी पोखरा रहेको कास्कीमा मात्र १८ जना सादा पोसाकका प्रहरीलाई नियमित ड्युटीमा खटाउन थालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, एसपी मोहन थापाका अनुसार  बिहीबारदेखि नै सादा पोसाकका सबैलाई नियमित ड्युटीमा खटाउन थालिएको छ ।

उनका अनुसार कास्कीमा पहिले नै घुमुवा हटाइएको भएपनि अपराध अनुसन्धान लगायतका प्रयोजनका लागि साधा पोशाकमा खटाइएका जिल्ला प्रहरी कार्यालय कास्कीका ८ र मातहतका डाँडाको नाकमा २, बगरमा ३, बैदाममा ४ र रामबजारमा एक जनालाई सादा पोशाकमा खटाइएको थियो ।

  • १७ चैत्र २०८०, शनिबार ११:३६ प्रकाशित