पोखरा महानगरपालिकाको स्टोरबाट सरकारी कागजात चोर्ने २ जना पक्राउ

३९ थान नक्साका फाइल बरामद

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा सरकारी कागजात चोर्ने २ जना पक्राउ परेका छन् ।

चैत १२ गते पोखरा महानगरपालिका वडा नम्बर ८ नयाँबजार स्थित हाल शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र रहेको पोखरा महानगरपालिकाको स्टोरको रुपमा रहेको भवनको ताल्चा फोडी महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेको सुचनाको आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा लम्जुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २८ का सुबिर थापा मगर र सोही ठाउँमा बस्ने २९ वर्षीय सरोज थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई ३९ थान नक्साका फाइलसहित पक्राउ गरेको हो ।

उनीहरुमाथि कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रहरीले बताएको छ ।

  • १४ चैत्र २०८०, बुधबार १५:५३ प्रकाशित