पोखरा ।
देशको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसंग विभिन्न ६ बुँदे माग राखेका छन् । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्व टोलीले अधिकारीलाई शुक्रबार पोखरामै भेटेर माग राखेको हो ।
व्यवसायीले भारतीय मुद्राको डिपोजिट सहज एवं २०० र ५०० रुपैयाँको नोटलाई सहजरुपमा चल्ने वातावरण बनाउनुपर्ने माग गरेको छ । ब्याजदर एकल अंक र घर कर्जाजस्तै व्यावसाहिक कर्जाको समायावधि अधिकतम हुनुपर्ने, पर्यटन क्षेत्रमा बैक तथा बित्तिय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने व्यवसायीको माग छ ।
विदेशी मुद्रा आर्जनको प्रमुखमध्येको स्रोत पर्यटन व्यवसाय सुधारोन्मुख भए पनि सन्तोष मानिहाल्नुपर्ने अवस्था भने नभएको परिषद अध्यक्ष श्रेष्ठले गभर्नरलाई सुनाए । ‘सन् २०२४ पर्यटकीय सिजन मार्चको अन्तिम हप्तासम्म पुग्दा आशा गर्ने स्थितिमा छैनौ,’ श्रेष्ठले गभर्नरलाई भने, ‘व्यवसायमा आएको गिरावट र चर्को बैंक ब्याजदरकै कारण हामीमध्ये कतिपय पर्यटनकर्मी व्यवसायबाट पलायन भए र कतिपय समयको सोही पदचाप पछ¥याउँदै छौं ।’
ऋण तिर्न सक्ने समय र उत्प्रेरणा आफूहरुलाई चाहिएको श्रेष्ठको भनाइ थियो । राष्ट्र बैकले वित्तीय संस्थाहरुलाई मौद्रिक नीतिले समेटेका विषयहरु लागू गराउने कडाइ गर्ने निर्देशनको निरन्तर खाँचो रहेको परिषदले औंल्याएको छ । मौद्रिक नीतिको समीक्षा गरी व्यवसायी मैत्री बनाउन व्यवसायीहरुको राय सुझाव सम्बोधन हुने गरी नेपाल राष्ट्र बैंकले सकरात्मक उपायहरु अवलम्बन गर्ने विषयमा गण्डकी प्रदेशका व्यवसायीहरुको विश्वास रहेको परिषदले सुनाएको छ ।
- यस्ता छन् व्यवसायीका मागहरु
१. व्याजदर एकल अंक र घर कर्जाजस्तै व्यवसाहिक कर्जाको समायावधी अधिकतम हुनुपर्ने ।
२. पर्यटन क्षेत्रमा बैक तथा बित्तिय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने ।
३.चालुपुँजी कर्जा निर्देशन अनुसार कारोवारको आधारमा चालुपुँजी कर्जा दिईनेमा पर्यटनमा अहिलेको ब्यापार औशत भन्दापनि कम छ, त्यसैले यसमा पुर्नविचार गर्नुपर्ने ।
४. व्याज किस्ता तिर्न नसकेको कारणले लाग्ने पेनाल्टी छुट गरिनुपर्ने ।
५. पुनर्कर्जा र पुर्नतालिकिकरणको समय बढाउनु पर्ने ।
६. भारतिय मुद्राको डिपोजिट सहज एवम् रु.२०० र रु.५०० को नोटलाई सहजरुपमा चल्ने वातावरण बनाउनु पर्ने ।