ढोरपाटन ।
बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ख३८७९ नम्बरको बस हिजो(सोमबार) साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको ज्यान गएको सूचना अधिकारी केसीले जानकारी दिए ।
बस सडकबाट एक सय ५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै ज्यान गएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको उनले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका हुन् । घटनास्थलमै गुमाएका सात जनाको शव सोमबार राति नै रुकुम पठाएको उनले बताए । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धवलागिरि अस्पताल बागलुङमा ‘रेफर’ गरिएको थियो ।
दुर्घटनामा रुकुमपश्चिम मुसिकोट नगरपालिका–१ का ५२ वर्षीय दशरथ नेपाली, सोही ठाउँका ३० वर्षीय छकेन्द्रजङ्ग सेन, आठबिसकोट नगरपालिका–१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मी मदाने गाउँपालिका–१ का २४ वर्षीय गोविन्द बोहरा, रुकुमपश्चिम मुसिकोट नपा–३ का ६५ वर्षीय हर्कबहादुर केसी, बोतलिवाङ–७ का ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मी मालिका गाउँपालिका–१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेत पञ्चपुरी नगरपालिका–८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुमपश्चिमका २२ वर्षीय टीकाराम विक, सोही ठाउँकी लक्ष्मी पुनमगर, बोतलिवाङ–११ की २२ वर्षीया सविना पुनमगर, रुकुमपश्चिमका ३८ वर्षीय हेमराज केसी घाइते भएका छन् ।
यसैगरी, रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ का २४ वर्षीय गणेश खड्का, काठमाडौँ टोखा नगरपालिका–३ की २३ वर्षीय सृष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–३ का २८ वर्षीय आविष्कार धराला, रुकुमपश्चिम मुसिकोट–३ का २७ वर्षीया सरिता खड्का, सोही ठाउँकी ज्ञानु ढकाल, ललितपुर महानगरपालिका–१४ का २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट–४ की ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकी ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुनमगर, ५५ वर्षीया लीला केसी, ३० वर्षीय सशिराम खड्का, १८ वर्षीया सपना वली, मुसिकोट नगरपालिका–३ का ६० वर्षीय हर्कबहादुर जिसी, सानोभेरी गाउँपालिका–१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका–१ का २८ वर्षीय हेमराज केसी र सिन्धुपाल्चोकको जुगाल गाउँपालिका–२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।













