काहुँडाँडाको भिषण आगलागी अझै नियन्त्रण बाहिर, बस्ती जोगाउन विभिन्न उपाय अपनाइँदै

केन्द्रभाग मिडिया

 

पोखरा ।

पोखराको काहुँडाडामा भएको भिषण आगलागी यो समाचार तयार पार्दासम्म (रातको ११ः३० सम्म) अझै नियन्त्रण बाहिर रहेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित एकसय भन्दा धेरै सुरक्षकमी अहिले आगलागी क्षेत्रमा नियन्त्रणका लागि खट्टिएका छन् ।

जंगलको आगो नियन्त्रणका लागि दमकल प्रयोग गर्न नसकिएपनि बस्ती जोगाउनका लागि अग्नि रेखा तयार पार्ने र बस्ती वरपर दमकलबाट पानी हाल्ने काम भइरहेको छ । सिडिओ घिमिरेले भने, ‘अहिले राति जंगलमा केही गर्ने अवस्था रहेन । बस्ती जोगाउने कामलाई प्राथिमकतामा राखेर तीन वटै सुरक्षा निकायबाट प्रयास भइरहेको छ ।’

यद्यपी आगलागीको सुरुवाती र केही समय अगाडि भन्दा अहिले जोखिम कम भएको बताइएको छ । सशस्त्र प्रहरी उपरीक्षक अरुण शर्माले अग्नि रेखा निर्माण लगायतका उपाए अबलम्बन गरेर बस्ती जोगाउने उपाय गरिएको बताए । ‘जंगलको आगो अहिले नियन्त्रण गर्ने अवस्था छैन । बस्ती जोगाउनका लागि अपनाइने सबै उपाय अपनाइएको छ । जहाँसम्म लाग्छ अब बस्ती त्यति जोखिममा छैन’ उनले भने ।

काहुँडाडाको ठूलो क्षेत्रमा फैलिएको आगलागी के कारणबाट भएको हो भन्ने पुष्टि भएको छैन । उक्त क्षेत्र वरपर शनिबार र आइतबार पनि आगलागी भएको थियो । अघिल्ला दिनमा भएका आगलागी नियन्त्रणमा आएपनि आज ठूलो आगलागी भएको स्थानीयले बताएका छन् ।

  • ५ चैत्र २०८०, सोमबार २३:२६ प्रकाशित