मोरङको रंगेली बस्तीमा आगलागी, २३ परिवारको बिचल्ली

केन्द्रभाग मिडिया

symbolic picture

विराटनगर ।

मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा २३ परिवारको बिचल्ली भएको छ । आगलागीबाट सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् डिएसपी रञ्जन दाहालले जानकारी दिए ।

डिएसपी दाहालका अनुसार शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको छ । शनिबार पाँच बजेतिर आगोलाई नियन्त्रणमा लिइए पनि सानातिना आगो र धुवाँ आउने क्रम आइतबार बिहानसम्मै जारी थियो । आइतबार बिहान चार बजेमात्र आगो पूरै निभाइएको डिएसपी दाहालले भने । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको थियो ।

पश्चिमबाट चलेको हावाका कारण आगो निभाउन कठिन भएको र टोलमा रहेका सबै घर जलेको प्रहरीले बताएको छ । बस्तीमा प्राय एउटै प्रकृतिका र बाक्ला घर थिए । केही घरहरु इँटाको सामान्य गाह्रो लगाएर बनाइएका थिए । बाँस, सन्ठी र पराल मिलाएर बनाइएका घरमा आगो छिटो फैलिएको र हावाहुरी चलेकाले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ ।

पीडित परिवारहरु घर जलेकै स्थान नजिक त्रिपाल टाँगेर बसिरहेका छन् । वडा अध्यक्ष प्रसाईंका अनुसार आगलागी पीडितहरुलाई पालिकाले घर बनाउनका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

  • ४ चैत्र २०८०, आईतवार १०:३० प्रकाशित