श्रमिक बालबालिकाको  हितमा काम गर्ने किडासा युकेका अध्यक्ष पोउवा संघमा

केन्द्रभाग मिडिया

पोखरा । श्रमिक बालबालिकाको हितमा काम गर्ने किडासा युकेका अध्यक्ष निक बेरीले पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित सामाजिक विकास केन्द्रका गतिविधिबारे जानकारी लिएका छन् । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित सामाजिक विकास केन्द्रले निकृष्ट श्रममा रहेका बालबालिकाहरुको शिक्षा,स्वास्थ्य र र सम्मानजनक जीवनयापनको लागि काम गर्दै आएको छ ।

सन् १९९८ देखि बालश्रम न्यूनिकरण कार्यक्रमको नाममा संचालित हुँदै आएको सो कार्यक्रमलाई अघिल्लो वर्षदेखि कार्यक्षेत्र विस्तार गर्दै सामाजिक विकास केन्द्रमा रुपान्तरण गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । संघले लामो समयदेखि किडासा युकेसहितका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी एवं गैरसरकारी संस्थासँगको सहकार्यमा सयौं बालबालिकालाई शिक्षा,सीप र रोजगारीसमेत प्रदान गरेको उनले बताए ।
श्रीमती एनीसहित शुक्रबार पोखरा उद्योग वाणिज्य संघ पुगेका किडासा युकेका अध्यक्ष निकले हालसम्म भइरहेका कामको समीक्षा गर्दै आउँदा दिनमा अझ प्रभावकारी रुपले श्रमिक बालबालिकाको हितमा काम गर्नुपर्ने बताए । उनले पोखरा उद्योग वाणिज्य संघको सामाजिक विकास केन्द्रले सम्पादन गरेका कामको मुक्तकष्ठले प्रशंसा गरे ।

सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले सहरी क्षेत्रमा हुने निकृष्ट प्रकारको बालश्रम न्यूनीकरणको लागि गरिएका कामले आशातित सफलता हासिल भएको बताए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद ज्ञापन तथा संघका महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नारायण कोइराला, उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपमहासचिव शोभा गौतम,सामाजिक विकास केन्द्रका वित्त तथा लेखा प्रमुख सरिता ताम्राकारसहितका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • २ चैत्र २०८०, शुक्रबार २०:१५ प्रकाशित