सुन प्रकरणमा पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सुन तस्करी प्रकरणमा पक्राउ परेका छन । सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएको टोलीले पक्राउ गरेको हो । २०८० साउन २ गते बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका भएतापनि सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।

सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो उठबस रहेको भेटिएको थियो । स्रोतका अनुसार, छिरिङसँग उनले केही कम्पनीमा साझेदारीसमेत गरेका थिए । सीआईबीमा गरेको बयान कागजमा पुनले दावासँगको चिनजान र सम्बन्धलाई स्वीकार गरेको भएतापनि सुन कारोबारमा संलग्न नरहेको दाबी गरेका थिए ।

  • २ चैत्र २०८०, शुक्रबार १९:५३ प्रकाशित