रुसी सेनामा भर्ती भएका थप ७ नेपालीले ज्यान गुमाए, ज्यान गुमाउनेको संख्या २० पुग्यो

केन्द्रभाग मिडिया

पोखरा ।

रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीले ज्यान गुमाएका छन् । पछिल्लोपटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका थप ७ नेपाली युवाको ज्यान गुमेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको हो ।

परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै दिएको जानकारी अनुसार पछिल्लो पटक ज्यान गुमाउने धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानले ज्यान गुमाएका हुन् ।

उनीहरुसंगै रुसी सेनामा भर्ना भएर ज्यान गुमाउने नेपालीको संख्या २० नाघेको छ । यसअघि सरकारले औपचारिक रूपमा १३ जना नेपालीको ज्यान गुमाएको जनाएको थियो ।

परराष्ट्र मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका राष्ट्रिय सेनामाबाहेक अन्यमा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको जनाए पनि रसियन सेनामा भर्ना हुने क्रम अझै रोकिएको छैन । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयले जनाएको छ ।

  • १ चैत्र २०८०, बिहीबार १८:३० प्रकाशित