काठमाडौँ ।
विशेष अदालतले आफ्नो सुनुवाइको प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) गर्ने तयारी गरेको छ । भ्रष्टाचार, गैरकानुनी सम्पत्ति आर्जन, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाको सुनुवाइ गर्ने विशेष अदालतले आफ्नो सुनुवाइलाई प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनुवाइको प्रत्यक्ष प्रसारणको लागि सर्वोच्च अदालतबाट अनुमति पाइसकेको र केही दिनमै प्रत्यक्ष प्रसारणको सुरुवात गर्ने तयारी भइरहेको छ । प्रवक्ता कार्कीले भने, ‘हामी एक–दुई दिनमै ट्रायल गर्ने पक्षमा छौँ, पूर्णरुपमा लाइभ स्ट्रिमिङ हुने समय ढिलोमा नयाँ वर्ष हो । त्यतिबेलासम्म हामी लाइभ स्ट्रिमिङमा गइसकेका हुन्छौँ ।’
विशेष अदालतले सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने मात्रै नभई अदालतलाई स्मार्ट कोर्ट बनाउने, भर्चुअल हियरिङ अर्थात् अन्यत्रबाटै पनि अनलाइनमार्फत बहस गर्न पाउने, अनलाइनबाटै बकपत्र गर्ने र तारेख लिने लगायतका काम गर्न लागिएको प्रवक्ता कार्कीले बताए ।












