पोखरा ।
पोखरा महानगरपालिका वडा न १७ सितापाइलास्थित पोखरा वृद्धाश्रमले २८ औं स्थापना दिवस मनाएको छ।
वृद्धाश्रमले बिहीवार जेष्ठ नागरिक मिलन कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए।
सो अवसरमा पौडेलले जेष्ठ नागरिक ज्युदो इतिहास र भविष्यका मार्गदर्शक भएको उल्लेख गर्दै जेष्ठ नागरिकहरूको सम्वर्द्धन र राज्यले प्रदान गरेका सेवा, सुविधा र सम्मान निर्वाधरूपले उपयोग गर्ने वातावरण निर्माणका लागि सबै पक्ष कटिवद्धताका साथ लागि पर्नु पर्ने उल्लेख गरे ।
जेष्ठ नागरिकका सबालमा बनेका ऎन ,कानुन र व्यवस्थाहरू कडाइका साथ लागू गर्ने अभियान स्वरूप नेपालमा नै पहिलो पटक जिल्ला समन्वय समिति कास्कीले समन्वयात्मक बैठक मार्फत पहल सुरुवात गरेको जानकारी दिदै निरन्तर यी कार्य जारी राख्ने उल्लेख गरे ।

पोखरा महानगर पालिका वडा न १७ का वडा अध्यक्ष राधिका शाहीले सामाजिक र जेष्ठ नागरिकहरूको क्षेत्रमा पोखरा वृद्धाश्रमले खेलेको भुमिका महत्त्वपूर्ण रहेको भन्दै उदाहरणीय सामाजिक कार्यमा वडाको सधैं साथ रहने बताए।
पोखरा महानगर पालिका वडा न १५ का वडा सदस्य बलराम पौडेल ,जेष्ठ नागरिक मन्च गण्डकीका अध्यक्ष रोमा शाक्य ,निवृत्त शिक्षक संघ केन्द्रीय उपाध्यक्ष तोयनाथ लामिछाने , लेखक रविन्द्र माकाजु ,ब्राह्मण समाजका केन्द्रीय उपाध्यक्ष भेषराज लम्साल सहितले मन्तव्य व्यक्त गरेका थिए ।
सो अबसरमा पोखरा वृद्धाश्रमको बिकास र सम्वर्द्धनका योगदान दिने महानुभाव, कर्मचारी तथा आजिवन सदस्यहरूलाइ सम्मान समेत गरिएको थियो।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह-सचिव सीता काफ्लेले स्वागत गरेकी थिइन् भने सञ्चालन सचिव धर्म गुरुङले गरेका थिए ।












