काठमाडौं ।
अमेरिका पठाइदिन्छु भन्दै ६० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा घर भइ गोँगबु बस्ने लोकबहादुर राउतलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा सात लाख ५० हजार रुपैयाँसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत दुई जनालाई ठगी गर्ने राउतलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति ८० लाख रुपैयाँसम्म लाग्छ भनी दुई जनासँग ६० लाख रुपैयाँ लिएर फरार भएका थिए । पक्राउ परेका राउतलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।












